महेश बोहरा ।
गुल्मी, २०८१ फागुन २० – उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिँदै चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुर बजारमा सरकारी तथा स्थानीय निकायहरूको संयुक्त टोलीद्वारा बजार अनुगमन सम्पन्न गरिएको छ। अनुगमन टोलीले खाद्य सुरक्षादेखि कानुनी मापदण्डसम्मको स्थलगत निरीक्षण गर्दै व्यवसायीलाई सचेत गराएको छ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा चन्द्रकोट गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी, स्वास्थ्य कार्यालय गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, उद्योग वाणिज्य संघ शाखा कार्यालय शान्तिपुर, इलाका प्रहरी कार्यालय शान्तिपुर तथा स्थानीय पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।
अनुगमनका क्रममा ७१ वटा व्यवसायको स्थलगत निरीक्षण गरिएको थियो, जसमा किराना पसल, होटल तथा रेस्टुरेन्ट, मासु पसल, औषधि पसल र अन्य व्यवसाय समेटिएका थिए। खाद्य सुरक्षासम्बन्धी मापदण्ड, पसलहरूको सरसफाइ, मूल्य सूचीको पारदर्शिता, म्याद सकिएका सामानहरूको बिक्री जाँच गर्ने क्रममा ३० वटा पसलमा अनियमितता भेटिएकाले सुधारका लागि लिखित निर्देशन दिइएको छ। व्यवसायीहरूले निर्देशनको अवज्ञा गरेमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
बजारमा उपभोक्तालाई म्याद सकिएका सामग्री बिक्री गरिएको पाइएपछि करिब ४० हजार रुपैयाँ बराबरका वस्तुहरू जफत गरी नष्ट गरिएको छ। म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री तथा भण्डारण गर्ने व्यवसायीलाई तत्काल सचेत गराइएको छ।
बजार अनुगमनका क्रममा व्यवसाय दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य सूचीको अनिवार्य प्रदर्शन, सरसफाइको अवस्था जस्ता विषयहरू पनि अध्ययन गरिएको थियो। अनुगमन टोलीले सफा, सुरक्षित, र नियमअनुसारको व्यापारिक गतिविधि सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दै आगामी दिनमा अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अनुगमन टोलीले उपभोक्ताहरूलाई पनि संशय लाग्ने सामानहरूबारे तुरुन्तै जानकारी गराउन र आफूले प्रयोग गर्ने सामग्रीको म्याद तथा गुणस्तर हेर्ने बानी बसाल्न सुझाव दिएको छ।
स्थानीय उपभोक्ताहरूले बजारमा हुने यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। उनीहरूले नियम उल्लंघन गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सरकार तथा स्थानीय निकायहरूले पनि अनुगमनलाई अझ व्यवस्थित बनाउँदै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्।