चन्द्रकोट गाउँपालिकाद्वारा ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

कार्यक्रममा सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने सहकारी संस्थाहरूलाई सम्मान   गरिएको छ ।

0 224

महेश बोहरा, चैत्र २० गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने राष्ट्रिय नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सहकारी क्षेत्रको प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा सहकारी संस्थाहरूको भूमिकाबारे जागरूकता फैलाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी , सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाका अध्यक्ष  युवराज केसीको  अध्यक्षतामा सम्पन्न  भएको कार्यक्रममा  उपाध्यक्ष  विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्य, पूर्व जनप्रतिनिधि तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता  रहेको थियो ।

कार्यक्रममा सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने सहकारी संस्थाहरूलाई सम्मान   गरिएको छ । यसरी सम्मानित हुनेमा  चन्द्रकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चन्द्रकोट-४, शान्तिपुरलाई सबैभन्दा ठूलो आर्थिक कारोबार गर्ने संस्थाको रूपमा सम्मान गरियो। त्यस्तै, साना किसान कृषि सहकारी संस्था लिमिटेड, चन्द्रकोट-७, रुपाकोटले महिला सशक्तीकरणमा विशेष योगदान पु¥याएको भन्दै  सम्मान  गरिएको छ । व्यवसायिक कारोबारमा अग्रणी भूमिका खेलेको भू.पू. सैनिक बहुउद्देश्यीय सहकारी संस्था, चन्द्रकोट-४, शान्तिपुरलाई पनि विशेष सम्मानपत्र प्रदान गरिएको थियो।

ad

सहकारी क्षेत्रका विविध पक्षबारे सहकारी शाखा प्रमुख प्रकाश पन्थीले जानकारी दिनुभएको थियो ।  उहाँले सहकारी संस्थाहरूको वर्तमान अवस्था, उनीहरूका चुनौतीहरू, सम्भावनाहरू तथा सहकारी क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उपायहरूबारे जानकारी गराउनुभएको थियो । उहाले सहकारीको विकासका लागि आर्थिक पारदर्शिता, कुशल व्यवस्थापन र सदस्यहरूको सक्रिय सहभागिताको महत्त्वबारे प्रकाश पार्दै सहकारीहरूलाई अझ सशक्त बनाउन सबै पक्षले आ-आफ्नो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले सहकारीको महत्त्व र यसको प्रभावकारी सञ्चालनको आवश्यकता बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए। अध्यक्ष युवराज केसीले सहकारी क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार रहेको बताउँदै सहकारीहरूले पारस्परिक विश्वास, पारदर्शिता र व्यवसायिकता कायम गर्नुपर्नेमा जोड दिनुभयो। उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले सहकारीहरूको दायरा अझ फराकिलो पार्न स्थानीय तहबाट आवश्यक नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो। अन्य वक्ताहरूले सहकारीको माध्यमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषि उत्पादनमा वृद्धि, महिला सशक्तीकरण तथा समग्र सामाजिक-आर्थिक रूपान्तरणका सम्भावनाहरूबारे चर्चा गरेका थिए।

चन्द्रकोट गाउँपालिकाभित्र हाल १५ वटा सहकारी संस्था सञ्चालनमा छन्। यी संस्थाहरूले ३ हजार ६ सय ३ जनालाई सदस्यता प्रदान गरेका छन्, जसमा २ हजार १ सय ९३ जना महिला तथा १ हजार ४ सय १० जना पुरुष रहेका छन्। हालसम्म, सहकारीहरूले १८ करोड ३० लाख रुपैयाँ बराबरको पुँजी परिचालन गरेका छन्, जसले स्थानीयस्तरमा प्रत्यक्ष रूपमा आठजनालाई रोजगारी प्रदान गरेको छ। सहकारीहरूमार्फत महिला उद्यमशीलता, कृषि प्रवर्द्धन, स्थानीय उत्पादनको व्यावसायीकरण तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरिएको छ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले चन्द्रकोट गाउँपालिकाभित्र सहकारी संस्थाहरूको योगदानलाई उजागर गरेको छ। सहकारीहरूको मजबुत विकासका लागि आगामी दिनमा अझ प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ। सहभागीहरूले सहकारी अभियानलाई अझ सशक्त बनाउन सहकार्य, नवीनतम प्रविधिको प्रयोग र संस्थागत सुदृढीकरणको आवश्यकतामा जोड दिएका थिए।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।