वसन्त ऋतुको आगमनसँगै आनन्दको अनुभूति

0 1,210

वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ । धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर, बंगलैबंगलाका बीचमा थोरै संख्यामा भए पनि मनै लोभ्याउने गरी फूलेका यी फूल आफैँ वसन्त ऋतुका ज्वलन्त उदाहरण हुन् ।


बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ । यो ऋतुलाई सबैले मन पराउँछन् । त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ । वसन्त पञ्चमीको दिनदेखि प्रकृतिका समस्त पुराना कुराहरु हटेर जान्छन् र प्रकृतिले पुनः नयाँ श्रृंगार फेर्छ । बिभिन्न फुलहरुले झुल्दै गीत गाउन थाल्छन् । कोइलीको कुहु–कुहु आवाज, फुलहरुमा मौरीहरुको भुन्भुनाउन थाल्छन् । मनमोहक वातावरणले हरेकको मनमा विशेष स्फूर्ति बढ्न थाल्छ र प्रकृतिले आफ्नो नयाँ स्वरुपले सबैलाई लोभ्याउछ । यो ऋतुको आगमनसँगै गुल्मीका बिभिन्न प्रकृतिक दृश्यहरु पनि मनमोहक बनेका छन् ।


पूर्वीय सभ्यतामा शिशिर र गृष्मको बीचमा आउने ऋतु नै वसन्त हो । वसन्तको अर्थ हो, बहार अर्थात यौवनावस्था प्रकृतिमा घुम्दै फिर्दै वर्षदिनमा बहार आउने भएकाले यसको नाम वसन्त जुराइएको हो । हिन्दू धर्मग्रन्थ गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई ‘म ऋतुहरूमा वसन्त हुँ’ भनेका छन् । पौराणिक र आधुनिक कविहरूले वसन्त ऋतुमाथि असंख्य कविता, गीत र साहित्यिक रचना गरेका छन् । न गर्मी न त चिसो नै ठिक्कको मौसम हुन्छ, वसन्त ऋतुमा । प्रकृतिले नौलो काँचुली फेर्छ ।

ad

बिक्रम सम्वतको हिसाबमा चैत र वैसाख महिना वसन्त ऋतुमा पर्छन् । फागुनको उत्तराद्र्धमा रुख बिरुवाले पालुवा हाल्न थालेका छन् । वसन्तलाई सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु मानिन्छ । यस ऋतुमा सबै पतझड बोटबिरुवाको पुरानो पात झरेर नयाँ पलाउँछ । त्यसैले वसन्तमा चौतर्फी हरियाली हुने गर्दछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।