बागलुङ जिल्लामा पछिल्लो समयमा बिना अनुमति मानव रहित हवाई उपकरण ड्रोन प्रयोगकर्ता बढ्दै गएका छन् । जसमा अधिकांश ड्रोन क्यामेरा नियामक निकायसँग अनुमति नै नलिएर सञ्चालनमा छन् । जसका कारण गोपनीयता तथा सुरक्षाको क्षेत्रमा निकै चुनौती थपिदिएको जानकारहरु बताउँछन् । जिल्लाका ड्रोन संचालकले उडान अगाडि अनुमति लिने त परको कुरा उपकरण समेत दर्ता गरेका छैनन् । तर, युटुयुबमा बागलुङका ड्रोनका भिडियोहरु हेर्न हो छरपस्टै भेटिन्छन् । ड्रोन पाइलटले क्यामेरालाई जमिनबाट ५० मिटरको उचाईभित्र कायम राख्नुका साथै ड्रोन संचालन सम्बन्धमा प्रहरीलाई समेत जानकारी गराउनुपर्छ । यद्यपि ड्रोन पाइलटले यस्ता नियमको पालना गरिएको भने पाइएको छैन । मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ का अनुसार जुनसुकै उद्देश्यले प्रयोग हुने हवाई उपकरणहरू ९ड्रोन० नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता हुनुपर्छ । प्राधिकरणमा दर्ता भएपछि मात्र उडान अनुमति लिनु पर्ने कार्यबिधीमा स्पष्ट नियम छ । तर, जिल्लाका ड्रोन संचालकहरुले सरकारी नियमको उल्लंघन गरेका छन् ।
ड्रोन दर्ता भएपछि व्यक्ति वा संस्थाले ड्रोन उडाउनु पूर्व स्थानीय प्रशासन, प्रहरी वा विमानस्थल कार्यालय संग उडान अनुमति लिनु पर्छ । पछिल्लो समयमा जिल्लामा मन्दिर जस्ता संवेदनशिल क्षेत्रमा समेत बिना अनुमति ड्रोन उडान गरि डलरको खेती गर्न थालिएको छ । प्रशासनको अनुमति बिनानै ड्रोन चलाउने र युटुयुबमा राखेर आम्दानी गर्ने क्रम बढ्दो छ । स्थानीय प्रशासन तथा निकायले पुरातात्त्विक, धार्मिक, ऐतिहासिक वा नियन्त्रित भनी वर्गीकरण गरेको क्षेत्रमा ड्रोन उडाउन नपाइने नियम रहेको छ तर, कानुनको ठाँडो उल्लंघन गरि युटुयुब कन्टेन्टको नाममा यस्ता संवेदनशिल क्षेत्रमा ड्रोन उडाउने गरिएको छ । बागलुङको ढोरपाटन शिकार आरक्ष ड्रोन उडाउनका लागि प्रतिबन्धित क्षेत्र हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा यो आर्थिक वर्षमा कुनै पनि ड्रोन दर्ता नभएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत तथा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए । उनले भने ‘ ड्रोन उडाउने सम्बन्धी मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ रहेको छ, सर्वप्रथम किने पछि ड्रोनलाई दर्ता नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गर्नुपर्ने प्रावधान छ, त्यसपछि जति पटक ड्रोन उडाउने हो, कहाँ उडाउने हो, सबै बुझेपछि मात्र प्रशासनले अनुमति दिन्छ । नियम विपरीत ड्रोन उडाउनेलाई कार्यविधि अनुरुप कारवाही पनि हुन्छ ।’कार्यविधि विपरित ड्रोन उडाउनलेलाई कानुन बमोजिम कारवाही गरिने उनले बताए । नेपालमा ड्रोन क्यामेराको बजार मूल्य करिब ५० हजार रुपैयाँदेखि सुरु छ ।