रेसुंगामा भक्तिसंगीत प्रतियोगिता सम्पन्न, पराल्मी पहिलो

0 174

रेसुंगा नगरपालिका– १४ रातामाटाका ५९ वर्षीय दोलकराज पन्थीले खैँजडी र मजुरा दुवै बजाउँछन् । उनी गाउँका पुराना भजन कलाकार हुन् । उनका बुबा ९३ वर्षीय तारापति पन्थी अझै छन् । उमेर हुने वेलासम्म तारापति समूह लिएर विभिन्न गाउँ पुग्थे । उनीसँगै हिँडेका छोरा दोलकराजले अहिले बुबाको बिँडो थामेका छन् । भजन विशेष गरेर धार्मिक उत्सवहरूमा गाउने र नाच्ने गरिन्छ । पहाडी जिल्लाहरूका प्रायः गाउँमा भजन संस्कृति छ । तर, नयाँ पुस्ताको आकर्षण कम हुँदा खैजडी भजन पुराना पुस्तामै मात्र सीमित बनिरहेको छ ।


१५ वर्षपछि भजन फर्काउँदै पराल्मी

रेसुंगा नगरपालिका– १४ खैँजडी भजनका लागि प्रख्यात गाउँ हो । पुराना पुस्तासँगै करिब १५ वर्ष भजन गाउने गाउँमा कोही भएनन् । गाउँकै विवाह, व्रतबन्ध र उत्सवसँगै रेसुंगा तथा गौशालामा पराल्मीको उपस्थिति शून्य बन्यो । तर, अहिले भजन फर्काउने जोशमा नयाँ पुराना पुस्ता कस्सिएर लागेका छन् । पराल्मीका ५९ वर्षीय युवराज आचार्य भजन गाउँदै आएका पुराना कलाकार हुन् ।

ad

उनले अस्ताएको भजन फर्काउन नयाँ युवा बोकेर समूहमा गाउने र नाच्ने गरेका छन् । भजनमा नृत्य गर्नेसहित नौजना चाहिन्छ । उनले कम पुराना र धेरै नयाँ युवालाई भजनसँग जोडेका छन् । बुबाहरूसँग ११ वर्षको उमेरदेखि भजन गाउने र नाच्ने गर्न थालेका आचार्यले सबै बाजा बजाउँछन् । ‘भजन अर्थसँग नजोडेर संस्कृतिको हिसाबले जोगाउने अभियानमा छौँ । नयाँले नसोचे भजन अब सकियो,’ उनले भने, ‘मैले काठमाडौंसम्म पुगेर पनि भजन गाएँ ।’

बाद्यबाधनका सामग्रीको जोहो

 

मौलिक भजनका गीत उस्तै छन् । पुस्तान्तरणसँगै बाद्यबाधनमा मादल र हार्मोनियम थपिएकोे छ । मौलिक भजनसँग रामायण, कृष्ण चरित्र, महाभारत, व्यास कथाहरूका चुट्का गाइन्छ । मेलो र प्रसंगअनुसार गाउनुपर्ने भएकाले भजन गाउनेहरूलाई सजिलो छैन । जसका कारण युवाहरूलाई मौलिकता छोप्न मुस्किल पर्ने पराल्मी भजन समूहकै ३१ वर्षीय युवा नरिश्वर आचार्यले जानकारी दिए ।

आचार्य मादल बजाउँछन् । पुराना कलाकारको भाका समाउँछन् । गाउँका पुराना कलाकार र सामग्रीसमेत नभएकाले करिब दुई लाखमा खैँजडी, मुजुरा, हार्मोनियम, मादल र साउन्डसिस्टम खरिद गरेर भजन संरक्षणमा जुटेको नरिश्वर गौतमले बताए । उनले आफूहरूले कहीँ पनि पैसा तोकेर भजन गाउने नगरेको बताए । ‘सबै युवा भजनका लागि तयार छैनन् । पुराना लय र गीत छोप्न, रातमा हिँड्न खोज्दैनन्,’ उनले भने, ‘स्थानीय तहहरूले प्रोत्साहन गरेर मौलिक संस्कृति जोगाउनुपर्छ ।’ उनले नयाँ पुस्ता ड्याग बजाएर युट्युबका भजनमा रमाउन थालेपछि मौलिक भजन लोप हुन थालेको बताए ।
नयाँ पत्रिकाकर्मी टोपलाल अर्यालबाट

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।