गुल्मीमा ९२ प्रतिशत रोपाइँ

0 166

 

हुमाकान्त पोखरेल
भदौ ५ ,२०७९ गुल्मीः गुल्मीका ९२ प्रतिशत खेतमा धान रोपिएको छ । बर्षे धान खेती हुने कुल आठ हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये कुल आठ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो ।

गत बर्ष यही समयसम्म ९६ प्रतिशत अर्थात आठ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बर्षादको कमी भएकोले पानीका मुल नफुटेको केही टारी खेतमा पानीको अभावले रोपाई हुन नसक्दा गत बर्षभन्दा कम क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।

ad

जिल्लाको कालिगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, च्यामी फाँट, चन्द्रकोटको मजुवा, रुपाकोट, शान्तिपुर लगायतका क्षेत्रमा धान रोपिएको छ ।

त्यसैगरी मुसिकोटको तल्लाफाँट, इन्द्रगौडा, भुवाचिदी, वामीटक्सार, मालिकाको सिमलटारी, शिलादी, मदानेको सिम, अग्लुङ फेदी, धुर्कोटको पनाहा खोला र छल्दीको आसपासको क्षेत्रमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

इस्माको चौरासी फाँट, हुलाके, निस्ति खोलाको आसपास, गुल्मीदरबारको टारी फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग एवम् रुरुक्षेत्रको टाहाटिम, घिउबेसी, छम्दी लगायतका क्षेत्रमा धान रोपिएको छ । अहिले सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली लगायतका उन्नका जातका शंकर, उपज, यूएस ३१२ लगायतका हाइब्रिड जातका धान रोपिएको कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । त्यसका साथै हंशराज आपझोले, काठे, सानो भट्टे, कोदे, बडियारे, मार्सी, रातो मार्सी लगायतका स्थानीय जातका धान पनि लगाइएको छ ।

जिल्लामा चैत ३५० र बर्षे आठ हजार ८०३ गरी कुल नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमा गत बर्ष २७ हजार ८० मेक्ट्रिक टन धान उत्पादन भएको थियो । गुल्मीमा रासायनिक मल उपलब्ध भएको छ ।

जिल्लाका सबै ठाउँका लागि युरिया ३८८ मेक्ट्रिक्टन, डिएपी १४२.५ मेक्ट्रिक्टन एवम् पोटास ९.५ मेक्ट्रिक्टन मल जिल्ला आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मल बिक्रिको लागि जिल्लामा ३८ बिक्रेता सूचिकृत भएका छन् ।

कृषि ज्ञान केन्द्रले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि पनि स्थानीय तहपिच्छे मलको आवश्यकताको तथ्याङ्क संकलन गरेको छ । जसअनुसार युरिया एक हजार २८२, डिएपी ५७२ र पोटास २४८ मेक्ट्रिक्टन मलको माग भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।