गत वर्ष भन्दा यस वर्ष गुल्मीमा सुन्तला उत्पादनमा १६ प्रतिशतले वृद्धि

0 159

 

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन १६ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

गएको वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गुल्मीमा नौ सय ९७ हेक्टर क्षेत्रफमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष नौ सय ९७ हेक्टर क्षेत्रफलमा छ हजार आठ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । जसको उत्पादकत्व ११ दशमलव ८० मेट्रिक टन प्रतिहेक्टर रहेको भण्डारीले बताउनुभयो । यस पटक २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तलाबाट किसानले १३ करोड २१ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

ad

यहाँका धेरैजसो व्यावसायिक किसानले आफ्नै लगानीमा तथा केहीले पालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ हेक्टर क्षेत्रफलमा सुन्तला रोपेका छन् । सुन्तला उत्पादन बढ्नुमा उत्पादनशील क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगैँचा व्यबस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकूल हुनु र फल्ने बोटको सङ्ख्या वृद्धि हुनु रहेको छ ।

गएको १० वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासका कारण सुन्तला उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गुल्मीकी प्रमुख गंगा पोख्रेलले बताउनुभयो । गुल्मीमा अझै पनि परम्परागत प्रविधिबाट सुन्तलाको खेती गर्ने प्रचलन छ । जसका कारण ९५ प्रतिशतभन्दा बढी सुन्तला बगैँचाहरू बिजु बोटकै रहेका छन् । बिजु बोटहरूमा फेद र जरा कुहिने मुख्य समस्या देखिएको छ । कतिपय बगैँचाहरूमा मलखाद र सुक्ष्म तत्त्वको अभावका कारण पात पहेँलो र छिर्केमिर्के हुने, बोटका हाँगाहरू सुक्ने, बोटहरू टुप्पाबाट सुक्दै जाने, फल झर्ने, फल नलाग्ने र लागे पनि रसिलो नहुने, बोक्रा बाक्लो र फल सानो हुनेजस्ता समस्या देखिने गरेकोे परियोजना प्रमुख पोख्रेलले बताउनुहुन्छ ।

सुन्तलाको दिगोरूपमा वृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका अगौटे तथा पछौटे जातहरू पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, सुन्तलाजात फलफूल बिरुवाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको विस्तार गर्ने, बिजु बिरुवा रोपण कार्यलाई पूर्णमारूपमा बन्द गर्ने लगायतका कार्यक्रमलाई किसान माझ पुर्‍याउन थालेको छ । ज्ञान केन्द्रले सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा सुधारका लगायत मलखाद, सिँचाइ र काँटछाँट गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ ।

गुल्मीका १२ पालिकामध्ये नौ वटा पालिका सुन्तलाको पकेट क्षेत्र रहेका छन् । जसअन्तर्गत रेसुंगा नगरपालिकाको भाँडगाउँ, अर्खले र भुवनपानी, धुर्कोट गाउँपालिकाको नयाँगाउँ र पिपलधारा, छत्रकोट गाउँपालिकाको लुम्छा र रुक्से, मुसिकोट नगरपालिकाको अर्लाङकोट तथा गुल्मीदरबार गाउँपालिकाको जुभुङ लगायतका ठाउँहरू सुन्तला खेतीका लागि प्रख्यात रहेका छन् । यस वर्ष सुन्तला उत्पादन बढेसँगै किसान थप उत्साहित देखिएका छन् ।

स्रोतः उज्यालो अनलाइन

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।