जीवन धान्नका लागि मानिस जुन जुन पेशामा लागेको भएतापनि निरन्तर कलम चलाईरहनेहरू धेरै कम हुन्छन् तिनै मध्येका चिकित्सक पेशामा आवद्ध यस कीर्तिका लेखक हुनुहुन्छ, जीवन क्षेत्री ।
यो कृर्ति यात्राको वर्णन र जलवायू असरले पारिरहेको प्रभावमा समेटिएको छ । बाग्लुङको दक्षिणी गाउँदेखी गुल्मी पाल्पा हुँदै बुटवल सम्मका पुर्खाहरूले हिडेका बाटोका डोबहरू समेट्दै लेखकले द्धितीय विश्व युद्धमा जापानले आक्रमण गरिसकेपछिको त्यँहाको कारूणिक जनजीवनलाई सरल र सहज ढंगले समेत प्रस्तुत गरेका छन् ।
कीर्तिको पहिलो पृष्ठमा लेखिएको छ, पुर्खाहरूलाई जसले हाम्रो अस्तित्व सम्भव बनाउन जीवन फाले । सन्ततिहरूलाई जसको अस्तित्व असम्भव बनाउन हामीले जीवन फाल्दैछौ । यस प्रसंगले कौतुहलताको मात्रै विकास गर्दैन यो पुस्तक पढेपछि म मेरो समाजलाई कुन बाटो तर्फ डोहोर्याइरहेको छू भन्ने तर्फ सोच्न बाध्य तुल्याउछ।
मैले पुस्तकबाट केहि जीवन भोगाईका लागि प्रसंगहरू थप्ने प्रेरणा लिएर यहाँ साझा गर्न खोजीरहेको छु ।
- रूख हुर्केर हाँगाहरूले आकास छोए पनि जराहरू जमिनमै रहन्छन् र भित्र रहन्छन् त्यसैगरी मानिस सारा संसार घुमे पनि उसको जरा गाउँमै रहन्छन् र रहनुपर्दछ ।
- संसारमा नगन्य रूपमा परिवर्तन भएका हुन सक्छन् तर मानिसको अपेक्षा जस्तो परिवर्तन भने भएका नहुन सक्छन् ।
- सुख र समुद्धिको हरेक शिखर चढेपछि मानिसले कति तलबाट यहाँ आइपुँगे भन्ने विर्सन्छन्, अगाडिको शिखरतिर हेर्दै पराजित मानसिकतामा पसिना काडिरहन्छन् ।
- पीडा अल्पकालीन दीर्घकालीन दुबै हुन्छन् तर तत्कालीन पीडा सहन सक्यो भने दीर्घकालमा खुसी वा सुख प्राप्त भइनैरहन्छन् र जीवनमा अनेक फड्काहरू मारिन्छन्।
- सम्बन्धहरू बनाउने मानवीय क्षमता पनि समयसँगै पातालिदै जान्छन्, समयसँगै अनुभवहरूमा विविधता थपिन्छ र प्रगाढता कम हुँदै जान्छन् ।
- गाउँका दुखहरूलाई सहरको सुखहरूले होइन अर्कै प्रकृतिको नयाँ दुखहरूले विस्थापन गरिराखेको छन् ।
- संसार दुखले भरिएको छ जीवनमा जुन विकल्प अँगाले पनि दुख छ भनेर स्वीकार्नु हो ।
- विकासको अर्थ खोज्दै गाउँ-गाउँ सम्म पुग्दा यस्तो लाग्छ, सडक र डोजर पर्यायवाची बनेका छन्।दिगो पर्यायवाची शब्द खोज्न अर्को पुस्ता आउनुनै पर्ने हो कि भन्ने देखिन्छ ।
- बालबालिकामा देश छाड्ने पखेटा पलाएको छ, यो पखेटामा प्वाँख राखिदिएको वर्तमान पुस्ताले नै हो ।
- मानिसको स्वभाव गल्ती नस्वीकार्ने किसिमको हुन्छ तर जसले गल्तीलाई सच्याउन ढिलो गर्दछ उसले ठूलो मूल्य चुकाइरहनुपर्दछ ।
- खुट्टाको प्रयोग गाडीमा चढ्नु र झर्नु मात्रैको लागि हुन थाले ।गाउँ चिन्न र बुझ्न हिडिरहनुपर्दछ भन्ने कुरा मनैले मनैलाई अझै बुझाउन सकिरहेको छैन ।
- आकास र धर्ती प्रेमपूर्वक एकअर्कालाई चुम्बन गरिरहेको बेला जलवायू परिवर्तनका तत्वहरूले प्रगाढ प्रेमलाई प्रकृतिबाटै लुट्छन् र प्राणीहरूले जीवन साटिरहन्छन् ।
अन्त्यमा यी सबै वाकांशहरूको अर्थ पृथ्वीमा जे जसरी अहिलेसम्म जीवन बाँचिरहेको छ त्यसलाई अधिकतम् लम्ब्याउनुको विकल्प हामीसित छैन भन्नु हो।यो क्रम निरन्तर रहदै गयो भने हामी जुन पेशा अंगाले पनि प्रमुख काम भनेको विपद व्यवस्थापन र आपतकालीन उद्धार नै हो ।हामी अझै मौन बस्न रूचायौ भने संवाद गर्ने अधिकार हामीसँग हुँदैन भन्ने नै हो।
लेखक जीवन क्षेत्रीप्रति अनुगृहित र आभारी ।म जस्तै पाठकहरूमा पढ्नका लागि अपिल गर्दछु फेरि एक पटक जलवायू असर बारे हामी अझै मौन बस्न रूचायौ भने संवाद गर्ने अधिकार हामीसँग छैन नै।
लेखक : हिमाल घर्ति , गुल्मी ।